एउटा किंवदन्ती छ। एक किसानले आफ्नो खेत खनिरहेको बेला नागका तीनवटा बच्चा भेट्टायो र मारिदियो। ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रूद्ध भई। रिसले चुर नागिनीले तत्काल किसानलाई मार्दा पनि रिस नमरेपछि किसानको घरमा गएर पत्नी र दुई छोरालाई समेत मारिदिए। घरमा छोरी पनि भएकी र ऊ बाहिर गएको समय परेकाले बाँची तर नागिनीले उसलाई पनि मार्न खोज्दै हिँडी। बाटोमा फेलापारी डस्न खोज्दा उसले अनुनय विनय गर्दै नमारेमा तपाईको पूजा आराधना उपासना गर्छु भनी।
अनि दूध लगायत दूधबाट बनेका परिकार खान दिन्छु भनेपछि नागिनीले दया गरी किसानकी छोरी बचेकी थिई रे। मृत्युबाट बचेकी किसानकी छोरी खुसी भएर नागिनीको पूजा गरी दूध खान दिई। यसबाट खुसी भएकी नागिनीले वर माग भन्दा किसानकी छोरीले मातापिता र भाइको जीवनदान दिनुहोस् भनी वर मागी र नागिनीले तथास्तु भन्दै सबैलाई ब्युताई दिई। नागिनले भनी आजदेखि प्रत्येक बर्ष आजकै दिन मेरो पुजा गरि मेरो तस्विर घरमा टास्नु भन्दै नागनि आफनो बाटो लागि। त्यो दिन साउन शुक्ल पञ्चमी परेकाले यही दिनबाट नागको पूजा गरि र घरघरमा नाग टाँस्ने परम्परा रहिआएको हो भन्ने किंवदन्ती छ।
नाग देवताको पुजा गरेर घरमा टास्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बँच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
प्रेम राज पन्त
पुजारी गंगेश्वर धाम, अजयमेरु गाँउपालिका–०६ सिम दोगडा डडेल्धुरा