भारतले अस्ट्रेलियाविरुद्धको पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा शुक्रबार कमजोर सुरुवात गरेको छ। पहिलो दिनको खेलमा भारत पहिले ब्याटिङ गर्दै १ सय ८५ रनमा अलआउट भएको थियो। त्यसको जवाफमा अस्ट्रेलियाले १ विकेट गुमाएर ९ रन बनाएको छ।
अस्ट्रेलियका लागि साम कोन्सटास ७ रन बनाएर खेलिरहेका छन्। जसप्रित बुमराहको बलमा आउट भएका अर्का ओपनर उस्मन ख्वाजाले २ रन बनाए। अस्ट्रेलिया १ सय ७६ रनले पछाडि रहेको छ। पाहुना टिमका लागि भने ऋषव पन्तले सर्वााधिक ४० रन बनाए।
यस्तै रवीन्द्र जडेजाले २६ र बुमराहले २२ रन बनाए। अस्ट्रेलियाली बलरमध्ये स्कट बोलान्डले ३१ रनमा ४ विकेट लिएका छन्। मिचेल स्टार्कले ३ र प्याट कमिन्सले २ विकेट लिए। सिड्नीमा भारतले यो टेस्ट बुमराहको नेतृत्वमा खेलिरहेको छ।
भारतले आफ्ना कप्तान तथा ओपनर रोहित शर्मालाई यो टेस्टमा खेलाएको छैन। अस्ट्रेलिया ५ टेस्टको सिरिजमा २–१ ले अगाडि छ। भारतले बोडर–गावस्कर ट्रफी आफ्नै पक्षमा राख्ने हो भने यो टेस्ट जित्न आवश्यक हुनेछ।