आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय विष्टले गत माघ ०९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए।

गोली लागी विष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसअघि गत पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन् । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.