अघिल्ला दुईवटा हिउँद सुक्खा भएकोमा यस वर्ष त्योभन्दा बढी सुक्खा हुने जोखिम बढेको छ। नेपालको मौसमी पात्रोमा मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ।
यो वर्षको हिउँद सकिन १६ दिन मात्र बाँकी रहँदा औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेको जलवायु विपदविज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो। उहाँले यसपालीको हिउँदमा पानी पार्ने केही प्रणाली भित्रिए पनि मध्य नेपाल पार गरेर पूर्वतर्फ जानै नसकेको र पोखरालगायत गण्डकी प्रदेशमै कम पानी परेको जानकारी दिनुभयो।
अबको १५ दिनपछि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना भए पनि पश्चिममै सीमित हुने जलवायु विपदविज्ञ डा।उप्रेतीको भनाइ छ। उहाँका अनुसार सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ।
यसवर्ष १० प्रतिशत पानी पनि परेको छैन। हिउँद सुक्खा हुँदा डढेलोका घटना बढिसकेका छन्। कृषीबालीमा समस्या आइसकेको छ।
प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ। नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन।
पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ। त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।
जलवायु परिवर्तनको असरले गर्दा केही वर्षदेखि हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको जलवायु विपदविज्ञ डा।धर्मराज उप्रेती बताउनुहुन्छ ।
उहाँका अनुसार सीमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा नेपालले यस्तो अवस्थाको सामना गर्नु चुनौतीपूर्ण छ । तर यो चुनौतीविरूद्ध लड्न सरकारी तथा गैरसरकारी निकाय र नागरिक तहबाट पनि सबैको साझेदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।
यसैबीच आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मध्य र पूर्वी तराईका केही ठाउँमा भने बिहान हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।