भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ।
अहमदाबादमा भएको अन्तिम खेलमा इंग्ल्याण्डलाई १४२ रनले पराजित गर्दै भारतले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको हो। यो सँगै इंग्ल्याण्डको भारत भ्रमण निराशाजनक रूपमा टुंगिएको छ।
भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३४।२ ओभरमा २१४ रनमै अलआउट भयो। इंग्ल्याण्डका लागि टम ब्यान्टनले ३८ रनको योगदान दिए। यस्तै, गस एट्किन्सनले ३८ र बेन डकेट ३४ रनको योगदान दिए।
भारतका लागि हार्दिक पाण्ड्या, अक्षर पटेल, अर्शदिप सिंह र हर्षित रानाले समान २(२ विकेट लिँदा कुलदिप यादव र वाशिंटन सुन्दरको नाममा १(१ विकेट रह्यो। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकको मदतमा ३५६ रनको योगफल तयार पारेको थियो।
भारतका लागि शुभमन गिलले १०२ बलमा ११२ रनको उत्कृष्ट इनिङ्स खेले। यस्तै, श्रेयश अय्यरले ७८ र विराट कोहलीले ५२ रनको योगदान दिए।
इंग्ल्याण्डका लागि लेग-स्पिनर आदिल रशिदले उत्कृष्ट बलिङ गर्दै ६४ रन खर्चेर ४ विकेट लिए। यस्तै, मार्क उडले २, साकिब महमुद, गस एट्किन्सन र जोय रुटले समान १-१ विकेट लिए
भारत भ्रमण इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याकुलमको पहिलो सिरिज थियो। यसअघि टी-२० सिरिजमा पनि इंग्ल्याण्ड भारतसँग ४-१ ले पराजित भएको थियो। पाकिस्तानको लाहोरमा २२ फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध खेल्दै इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीको सुरुआत गर्नेछ।