देशभर चिसो बढेको छ। हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो। आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो।
उहाँका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ। तर हिजोजस्तो बदली नहुने उहाँको भनाइ छ। हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ।
यसपालीको हिउँद सुख्खा भइरहेको बेला हिउँद सकिने बेला पानी पर्ने संकेत देखिएको हो। नेपालको मौसमी पात्रोमा मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ। यो वर्षको हिउँद सकिन लाग्दा औषतको नौ प्रतिशत मात्रै पानी परेको छ। धेरै ठाउँमा त पानी परेकै छैन। पानी नपर्दा वायु प्रदुषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ।