बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। मौसममा आएको परिवर्तनसँगै बिहीबारदेखि पानी परिरहेको छ।
लगातार पानी परिरहेकोले चिसो बढेर दैनिक जनजीवन प्रभावित भएको छ। चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन्। सडक तथा बाटोमा पनि यात्रुको आवागमन कमै छ।
बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको मेलौली नगरपालिका–०८ कोटिगाउँका किसान लक्ष्मण राम लुहारले बताए। ’यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ’, उनले भने, ’यो वर्ष लामो समयपछि पानी परेको छ। यो पानीले केही राहत भएको छ।’
वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको किसानहरुले बताएका छन। बैतडी उच्च लेकाली क्षेत्रमा हिमपात समेत भएको छ।