बैतडी-बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा मैलाली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा शिवनाथ गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै मेलौली अन्तिम चारमा सुरक्षित भएको हो।
शाहिलेकस्थित विरेन्द्र माविको खेलमैदानमा भएको खेलमा मेलौलीले पहिलो सेट २५-१८,दोस्रो २५-२२ र तेस्रो २५-२३ ले जित्यो।
यो जितले मेलौली अन्तिम चारमा सुरक्षित भएको छ। पराजित भएको शिवनाथ बाहिरिएको छ।मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।