बैतडीमा दुई बालिकामाथि बलात्कार भएको खुलासा भएको छ। जिल्लाको मेलौली नगरपालिकाकी १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा मेलौलीकै २५ बर्षीय पुरुषलाई पक्राउ गरिएको छ।
ती पुरुषले बालिकामाथि २०८० असार र कार्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ।
यस्तै शिवनाथ गाउँपालिकाकी १५ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० बर्षीय पुरुषलाई पक्राउ गरेको छ। ती पुरुषले ललाईफकाई गरेर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो।
घटना कसरी बाहिरीयो भन्ने बिषयमा प्रहरीले अनुसन्धानपछि मात्र जानकारी दिइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान शुरु भइसकेको छ।
दुवै घटना अनुसन्धानमा रहेका र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले नामसहितको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।