होली खेलेर तिन लाख बढी संकलन,विद्यालयको शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने

बैतडीमा विद्यालयको विकासका लागि होली खेलेर आर्थिक संकलन गरिएको छ। जिल्लामा रहेका केही विद्यालयहरुले विद्यालयको विकासका लागि होली खेलेर आर्थिक संकलन गरेका हुन। जिल्लाको पाटन नगरपालिका ९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाले होली खेलेर रु ३ लाख १८ हजार ८ सय ५० रुपैंया सङ्कलन गरेको सिद्धेश्वर माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताउनुभयो।

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ । यो विद्यालयले आफ्नै स्रोतमा छात्रावास पनि सञ्चालन गरेको छ। निजी स्रोतका शिक्षक, छात्रावास लगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो।

यस्तै पाटन नगरपालिका–१ को सिद्धेश्वर माध्यमिक विद्यालय मेल्चौराले पनि होली खेलेर तिन लाख लाखभन्दा बढी रुपैयाँ सङ्कलन गरेको छ। होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दिपेन्द्र सिंह चाँडले बताउनुभयो।

बैतडीको सदरमुकाममा रोयल हिल युथ क्लब, जगन्नाथ बहुमुखी क्याम्पस, पाटन नगरपालिकामा सरस्वती मावि सल्लेवासा, जनता मावि आरुबाटा, सिगास गाउँपालिकाको पञ्चोदय मावि लगायत दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका लगायतका जिल्लाभरिका विभिन्न स्थानमा होली खेलिएको छ। सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सात दिन होली खेल्ने चलन छ।

Leave A Reply

Your email address will not be published.