आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।
अरु प्रदेशको पहाडी र हिमाली भागको मौसम आज आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अन्य प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशको मौसम मुख्यतया सफा छ।
देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव कायमै छ। प्रि–मनसुनको समय भएकाले दिउँसोपछि तराई क्षेत्रका धेरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसमविद् गोविन्द झाले बताउनुभयो। उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि सामान्य हावाहुरीको सम्भावना छ।
केही दिनयता देशभर गर्मी बढेको छ। तराईका जनकपुर, भैरहवा, विराटनगरलगायतका शहरमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेको मौसमविद् झाले बताउनुभयो।