आजदेखि शुक्र अस्त :के गर्नुहुन्छ, के गर्नु हुँदैन?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ। आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतवार दिउँसो १ बजेर १७ मिनेट पूर्वमा उदय हुने समितिले जनाएको छ।

यो अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने समितिले जनाएको छ। तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ। शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्।

हिन्दुधर्म अनुसार हरेक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ। वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ।

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन। धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन्। नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ पर्छन्।

नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन्। काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाहलगायतका संस्कार पर्छन् ।

Leave A Reply

Your email address will not be published.