बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी/गाउघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट १६३ जनाले सेवा लिएका छन। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
प्रत्येक महिनाको दश गते सञ्चालन गरिदै आएको कार्यक्रम आईतबार पनि सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका कार्यालय प्रमुख हिकमत चन्दले जानकारी दिनुभयो। आईतबार सम्पन्न कार्यक्रममा १०२ महिला र ६१ जना पुरुषले सेवा लिनुभएको उहाँले बताउनुभयो।
पाटनमा आयुर्वेदको पहुच नभएकाले विगत ४ महिनादेखी प्रत्येक महिनाको दश गते यो कार्यक्रम सञ्चालन गरिदै आएको छ। आयुर्वेदको पहुच नभएका र नसर्ने रोगहरुको पहिचान/निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख चन्दले जानकारी दिनुभयो।
आईतबार सम्पन्न कार्यक्रममा उच्च रक्तचापका महिला पुरुष ३५ जना, बाथका ३०, अम्लपित्तका २६, मधुमेहका १०, पाईल्सका १९, पथ्थरीका ५, दमका १६ र मोटोपनका ११ जनाले सेवा लिएका हुन। पुषबाट प्रत्येक महिना सञ्चालन गरिदै आएको यो कार्यक्रम आगामी असारसम्म सञ्चालन गरिने कार्यालय प्रमुख चन्दले बताउनुभएको छ।