बैतडी: विगतका वर्षहरुमा न्युनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरीमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अंक यस वर्ष भने खस्किएको छ। यस वर्ष बैतडी अस्पतालको चार अंक घटेर ८९ पुगेको छ। गएको वर्ष ९३ अंक प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अंक कम पाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले बताउनुभयो।
अस्पताल व्यवस्थापन समितिको म्याद सकिएर अर्को समिति नबन्नु तथा अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अंक घटेको उहाँको भनाई छ। उहाँले भन्नुभयो ‘अन्य कुरामा बरु सुधार भएको छ। तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अंक घट्यो।’
पुषमा गर्नुपर्ने न्युनतम स्वास्थ्य सेवा मापदण्डको मुल्याङ्ककन चैत्र दोश्रो साता हुनुले पनि अंक घटेको पाइएको छ। अस्पतालले प्रदान गर्ने अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिन्छ। जिल्ला अस्पताल व्यवस्थापन समितिको म्यान ०८१ चैत्र २ गते सकिएको छ। राजनीतिक नियुक्तका आधारमा बन्ने अस्पताल व्यवस्थापन समितिले तत्कालै पुर्णता पाउने अनिश्चित छ।
सिमित पुर्वाधार र उपकरणका बावजुत समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको अस्पतालका म्यानेजर सुमन महराले बताउनुभय। उहाँले भन्नुभयो ‘१५ सैय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० सैय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ। सरकारले ५० सैय्याको दरबन्दी स्विकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धी हुने थियो।’
यस पटक सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले दुबैले अस्पताल व्यवस्थापन समितिको अध्यक्षका लागि दाबी गरिरहेका छन्। जिल्ला खेलकुद विकास समितिको म्यान समेत सकिन लागेकाले दुबै सत्तासाझेदार दलमा भागवण्डा हुने सम्भावना छ।
दिव्यास्त्रबाट