राजावादीको गतिविधि अराजक: समाजवादी मोर्चा

शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शन थियो। प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले विज्ञप्ति निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको हो।

‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’ समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर यस्तो बताएका हुन्।

राजावादीको गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ। ‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

राजावादीहरूले ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको उनीहरूको निष्कर्ष छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको भन्दै साजवादी मोर्चाले सरकारको ध्यानाकर्षण गरेको छ।

निजी, सार्वजनिक सम्पत्ति, सञ्चार गृह लगायत तोडफोड तथा आगजनी गरेको भन्दै मोर्चाले यस्ता गतिविधिको भर्त्सना गरेको छ।

Leave A Reply

Your email address will not be published.