बैतडीमा सत्ता गठबन्धन दलको बैठक,चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल

चैत २४,बिहिबार २०७८
बैतडी –बैतडीमा सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका बिषयमा सत्ता गठबन्धनका दलहरुबीच जिल्लामा पहिलो पटक बिहीबार छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज परमानन्द भट्टको सहभागिता रहेको थियो । सभापति चन्दको अध्यक्षतामा भएको छलफलले तीन सदस्यीय संयन्त्र समेत गठन गरेको छ । सो सयन्त्रमा काङ्ग्रेसका तर्फबाट सभापति चतुरबहादुर चन्द, माओवादीका तर्फबाट जिल्ला संयोजक शंकर भण्डारी र एकीकृत समाजवादीका तर्फबाट जिल्ला इन्चार्ज परमानन्द भट्टलाई राखिएको छ ।

प्रारम्भिक छलफलमा आगामी चुनावमा कसरी मिलेर जाने भन्ने बिषयमा पालिकास्तरमै गठबन्धन दलका नेताहरुसंग छलफल गर्ने सहमति भएको छ । स्थानीय तहका नेताहरुसंगको छलफलको निष्कर्षका आधारमा फेरी जिल्ला संयन्त्रमा छलफल हुने नेपाली काङ्ग्रेसका सभापति चतुरबहादुर चन्दले बताए ।

केन्द्रिय निर्णय अनुसार वडा तहसम्मै चुनावी गठबन्धन गर्ने र त्यसका लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ९विजयसुन्दर०ले बताए । उनले भने ‘हामीले केन्द्रिय सर्कुलर अनुसार चुनावी गठबन्धन गर्ने भनेका छौं । यसका लागि वडा तहदेखि नै छलफल गर्ने भनेका छौं ।’

नेपाली काङ्ग्रेसले पनि केन्द्रिय सर्कुलर अनुसार नै स्थानीय तहमा गठबन्धन दलका नेताहरुसंग छलफल गर्नका लागि सर्कुलर पठाएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।

१० ओटा स्थानीय तह रहेको बैतडीमा कुन ठाउँमा कसले उम्मेद्वारी दिने भन्ने बिषयमा अझै टुंगो लागि नसकेको सभापति चन्दले बताए । स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने योजना रहेको उनले बताए ।
सगुन खबर…….

Leave A Reply

Your email address will not be published.