आज देशैभर पानी पर्ने सम्भावना

देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। अहिले झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित पानी परिरहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्ने प्रणाली उत्तरदेखि पूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ। नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अरू सबै प्रदेशको पहाडी भागका केही ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ।

Leave A Reply

Your email address will not be published.