आज ठूलो पानी नपर्ने, उच्च पहाडी तथा हिमाली ठाउँमा हिमपातको सम्भावना

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो। देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँ र बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो। काठमाण्डौ उपत्यकामा आज छिटपुट वर्षा हुन सक्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

गएको बिहीवार राति नेपाल भित्रिएको मनसुन कोशी प्रदेशबाट अगाडी नबढेको पनि महाशाखाले जनाएको छ। मनसुन देशभर फैलिन केही दिन लाग्ने अनुमान छ।

Leave A Reply

Your email address will not be published.