बैतडीको मेलौलीमा उत्तरप्रसूति घरभेट (पिएनसी) सम्बन्धी एकदिने समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। मेलौली नगरपालिकाको सभाहलमा स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा एकदिने समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिह भाट्ले बताउनुभयो।
स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घर/घरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्त्वपूर्ण कार्यको समिक्षा गरिएको जनाईएको छ। नगरपालिकाका भित्रका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा रहेका प्रमुख र अनमीहरुको सहभागितामा समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखाका सिनियर अहेब राज बहादुर चन्दले जानकारी दिनुभयो ।
शतप्रतिशत लक्ष्य प्राप्तिका लागि सबैको अग्रसरता आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागीहरूले आमा र बच्चाको स्वास्थ्य अवस्थामा थप टेवा र्पुयाउन प्रसूति पछिको स्याहारको भेट कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिएका थिए। नवजात शिशुको मातृमृत्युदर कम गर्नको लागि होमभिजिट कार्यक्रमलाई कसरी प्रभावकारी सकिन्छ भनेर उक्त कार्यक्रमको आयोजना गरिएको जनाईएको छ।
नगरपालिकामा स्वास्थ्य सस्थाबाट घरघरमा गएर नर्सिङ कर्मचारीहरूले प्रसूति र प्रसूति भइसकेपछि पनि नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्नको लागि घरघरमा भेटघाटको लागि नर्सिङ कर्मचारीहरुले प्रत्यक्ष निगरानी राख्नुपर्ने बताईएको छ। सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गरी जटिलताका अवस्थाहरू समयमै पहिचान, व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा नवजात शिशु मृत्यु कम गर्ने उद्देश्य अनुरुप काम गर्न सबैलाई स्वास्थ्य शाखा प्रमुख भाट्ले आग्रह गर्नुभयो।