बैतडी–बैतडीको मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।
हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख भाटले बताउनुभयो ।
मेलौली नगरपालिकाका ९ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिना सम्मका ३१९ जना र १६ महिनादेखि ५ बर्ष सम्मका ९५६ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख भीम बहादुर चन्द (भुकम्प)ले नगरबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।
यस्तै उपप्रमुख पार्वती बोहरा विष्टले खोप पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
नगरप्रमुख भीम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख पार्वती बोहरा विष्ट विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।यसैबीच पालिका भरीका १० जना स्वास्थ्यकर्मीहरुलाई पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान समेत गरिएको छ ।
९ ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जनालाई छनोट गरेर प्रमाणपत्र सहित खादा माला लगाएर सम्मान गरिएको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव राज बहादुर चन्दले बताउनुभयो ।