जिल्ला अस्पताल बैतडीले सञ्चालन गरेको आँखा शिविरबाट ५ सय बढिले सेवा लिए

बैतडी: जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शिविरमा १ सय ४५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा ५ सय १६ जनाको आँखाको परीक्षण गरी आवश्यक औषधी उपलब्ध गराएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए।

जिल्ला अस्पताल बैतडी, दशरथचन्द नगरपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयुक्त आयोजना तथा नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै ठाउँमा आँखा स्वास्थ्यको सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको नेत्र अधिकृत बिष्टले बताए।

यसअघि गएको जेठ ३० र ३१ गते डोटीको वायलमा सञ्चालन भएको शिविरमा १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। उक्त शिविरमा २ सय ७९ जनाको आँखा परीक्षण गरिएको नेत्र अधिकृत बिष्टले बताए।

नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना र केआइसिंह गाउँपालिकाको सहयोगमा वायलमा शिविर सञ्चालन गरिएको थियो। गेटा आँखा अस्पतालले हरेक बर्ष सुदूरपश्चिम विभिन्न जिल्लाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। यस्ता शिविरबाट आँखाको समस्या भएका नागरिकहरुले सेवा पाउने गरेका छन्। आर्थिक तथा अन्य कारणले आँखाको उपचार गर्न नपाएका नागरिकहरुका लागि यस्ता शिविरले सहयोग पुग्ने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। सुशील विकले बताए।

आफ्नै ठाउँमा निशुल्क रुपमा सञ्चालन भएको शिविरमा आँखाको शल्यक्रिया गर्न पाउँदा नागरिक पनि खुशी भएका छन्। बुढेसकालमा आँखाको ज्योति फर्किएपछि जेष्ठ नागरिक खुसी भएका हुन्।

Leave A Reply

Your email address will not be published.