बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित, स्वास्थ्यकर्मी परिचालन

बैतडीको सुर्नया गाउँपालिकाको ठेउला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। गाउँपालिकाको वडा नं ७ र ८ को ठेउला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो।

वडा नं ७ र ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको र यसबाट बालबालिका बढी प्रभावित भएका महराले बताउनुभयो। यो क्षेत्रका १२/१३ जनामा संक्रमण देखिएको उनले बताए ।

बिरामीहरुको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखा परेका छन्। यस्त समस्या देखिएका बिरामीहरुलाई अलगै आइसोलेसनमा बस्न भनिएको महराले बताउनुभयो। समस्या देखिएका ठाउँमा स्वास्थ्यकर्मीहरुले घरदैलोमै गएर सचेतना फैलाउने कार्य गर्नुका साथै आवश्यक उपचार समेत गरिरहेका उनले बताए।

यसैबीच सुर्नयाको वडा नं ७ र ८ मा देखिएको रोग ठेउलाको हो कि होइन भनेर एकीन गर्न विश्व स्वास्थ्य संगठनको टोली समेत आउन लागेको बताइएको छ। टोली आज प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

यसअघि स्वास्थ्य कार्यालय बैतडीबाट समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पुगेको थियो। स्वास्थ्यकर्मीहरुले निरन्तर रुपमा सचेतनामूलक कार्यक्रम र उपचारात्मक सेवा सञ्चालन गरिरहेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.