गर्मी र बर्खासँगै देशभर सरुवा रोगको सङक्रमण बढ्न थाल्यो

देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन्। गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आकश्मिक कक्षमै अहिले दैनिक सरदर सात जना बिरामी उपचारका लागि पुग्ने गरेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा सबैभन्दा धेरै झाडापखालाका बिरामी बढेका छन्।

अस्ति सोमवारसम्म काठमाण्डौमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालामा बिरामी फेला परेका छन्। यस्तै भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना हैजाका लक्षण भएका बिरामी छन्।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार बर्खाको समय, चर्को गर्मी तथा खानपानको कारण ज्वरो, हैजा तथा झाडापखालाका बिरामी बढेका हुन्। पानीजन्य सङक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने अनि विशेषगरी पालिकाले आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ।

सरुवा रोगबाट जोगिन व्यक्तिगत सरसफाइ निक्कै महत्त्वपूर्ण रहेको सुमेरु अस्पतालका जनरल फिजसियन डा।सरोज थापाले बताउनुभयो। बर्खामा पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक रहेको डाक्टरले बताएका छन्।

त्यस्तै बासी खानेकुरा नखाने, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र ताजा खानेकुरा खानुपर्ने र स्वास्थ्य समस्या भइहालेमा तुरुन्त अस्पताल जान डा।थापाको सल्लाह छ।

Leave A Reply

Your email address will not be published.