बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिका–५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र सिराड पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।आईतवार एक औपचारीक कार्यक्रम आयोजना गरि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र सिराडका संस्था प्रमुख सुरेश नाथले जानकारी दिनुभयो।
पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सुचकहरु पुरा भएपछि पौषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताउनुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरु पूरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने गरिन्छ । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड पूरा गरेको र १६ ओटा सूचकबाट १५ अंक प्राप्त गरेको हुनुपर्ने भागेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर साहुले बताउनुभयो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष नरेन्द्र बहादुर थापा मगरले पोषणमैत्री वडा घोषणाका लागि योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
वडाअध्यक्ष थापा मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिलका उपाध्यक्ष पुष्पा ठकुराठी रहनुभएको थियो । अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।