बैतडी-डडेल्धुराको अजयमेरु गाउँपािलका वडा नम्बर-४ मा रहेको चिपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ ।
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार चिपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको अजयमेरु-४ का वडाध्यक्ष एवम चिपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर विष्टले जानकारी दिनुभयो ।
आफ्नो वडामा रहेको चिपुर स्वास्थ्य चौकीलाई पालिकामै पहिलो किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गर्न पाउँदा निकै खुसी लागेको उहाँको भनाइ छ ।
चिपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै अब अन्य स्वास्थ्य संस्थालाई पनि किशोर किशोरी मैत्री बनाउने अभियानमा गाउँपालिका लागेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट विकास ले बताउनुभयो । गाउँमै किशोर किशोरीका स्वास्थ्य समस्याको समाधान हुने गरी सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष बसन्ती पालले किशोर किशोरीलाई स्वास्थ्य सम्वन्धी जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाले किशोर किशोरी अवस्थामा सहि बाटो लैजान सकेमात्र भविश्य उज्जवल हुनेमा जोड दिनु भयो। उहाले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री घोषणा गरेर मात्र नहुने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको पनि बताउनुभयो ।

किशोरावस्थामा शारीरिक र मानसिक परिवर्तन आउने र त्यो सँगै समयमा ख्याल गरेन भने मानसिक विचलन पनि आउन सक्ने हुँदा स्वास्थ्य सेवा र परामर्शले ठूलो दुर्घटना हुनबाट बचाउन सकिने अजयमेरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाले बताउनुभयो ।
अजयमेरु गाउँपालिकामा रहेका हरेक स्वास्थ्य संस्थालाई अब किशोर किशोरी मैत्री बनाउन आफूहरू लागिपरेको र नागरिकको हरेक स्वास्थ्य समस्या समाधानका लागि नवीनतम् प्रयासहरू सुरु गरिएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखाका संयोजक गणेश पालले उल्लेख गर्नुभयो ।
सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख मनोज पनेरुलाई चिपुर स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, वडा सदस्यहरु, किशोर किशोरीहरुको उपस्थिति समेत रहेको थियो।
