२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतको उपस्थिति थियो।
चार वटा देश सहभागी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो शुक्रवारदेखि साउन ५ गतेसम्म बङ्गलादेशमा हुँदैछ । प्रतियोगितामा नेपाल, पूर्वविजेता तथा आयोजक बङ्गलादेशसहित भूटान र श्रीलङ्का सहभागी छन्। प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेलपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
नेपालले आउँदो शुक्रवार भूटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ। यो प्रतियोगितालाई नेपालले एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटको तयारीका रूपमा लिएको छ।