ॐ  शब्दको अर्थ

मानव जीवनलाई पवित्र बनाउने शब्द “ॐ ” हो । जेजति पनि मन्त्रहरु छन तिनको शुरुवात “ॐ ” बाट भएको पाइन्छ । यो एउटा विचाननीय र सोचनीय तथ्य छ । सनातन हिन्दुधर्ममा “ॐ ” शब्दको अति नै महत्व छ ।प्राय:जसो यो शब्द हामी दिनहुँ जप्ने गर्दछौँ ।

“ॐ “शब्द संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । यसको अक्षर संरचना हेर्दा तीन ओटा अक्षरले बनेको छ , त्यो हो अ , उ , म । यी तीन ओटै अक्षरको पनि अर्थ छ कि अ अर्थात आदि , जसले ब्रह्मलाई जनाउँछ । उ अर्थात उन्नति , जसले भगवान विष्णूलाई जनाउँछ । म अर्थात मृत्यू , जसले महेश्वर भगवानलाई बुझाउँछ ।हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ माण्ड्क्य उपनिषदमा ॐ शब्द बारे उल्लेख गरिएको पाइन्छ ।

उपनिषदहरुमा ॐ शब्दलाई मन्त्र अर्थात वेदको आधारभूत एकाइको रुपमा विश्लेषण गरेको छ जसले स्वयं परब्रह्मा र ब्रह्माण्डलाई जनाउँछ । विश्व एवम भूत , वर्तमान र भविष्यत काल भन्दा पर जो नित्य सर्वत्र व्याप्त छ त्यो नै ॐ हो । ॐ ब्रह्म हो र आत्मा पनि ब्रह्म हो ।

“ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्यरन
य : प्रयाति त्यजन्देहं स याति परमां गतिम ।।”

श्रीमदभागवत गीताको आठौँ अध्यायमा उल्लेखित यस श्लोकमा भनिएको छ कि – जसले सबै इन्द्रियहरुलाई रोकेर आफ्नो प्राणलाई मस्तिष्कमा स्थापित गरि ब्रह्मस्वरुप एक “ॐ” उच्चारण गर्दै देह त्याग गर्छ , उसलाई मोक्ष प्राप्ती हुन्छ । ॐ शब्द उच्चारण गर्दा भित्रैबाट श्वास बाहिर आउने हुँदा जीन्दगीको अन्तिम श्वास फेर्नकालागि सहज हुने अर्थमा यसको महत्व श्रीकृष्ण भगवानले अर्जुनलाई बताउन भएको कुरा उल्लेख गरिएको पाइन्छ । ब्रह्मा , विष्णू , महेश्वर यी तीनओटै भगवानलाई जनाउने शब्दको रुपमा ॐ लाई लिएको छ । यो शब्द उत्पत्ति , पालन र रुपान्तरणसँग सम्बन्धित छ ।

यस कारण मनुष्यले हरदम उच्चारण गर्नै पर्ने शब्द ॐ हो । यसको उच्चारणबाट पाँचओटा ज्ञानेन्दृय ( आँखा , नाक , कान , जिब्रो , छाला ) र पाँचओटा कर्मेन्दृय ( हात , पाउ , वाणी , मूत्राशय , मलद्वार ) कोलागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

अन्तमा मनुष्य जीवन अनमोल छ , यसकालागि आत्मा शुद्ध र पवित्र हुन पर्दछ ।

असतो मा सद्गमय
तमोसो मा ज्योतिर्गमय
मृत्योर्मा अमृतं गमय
ॐ शान्ति : शान्ति : शान्ति : ।

देवेन्द्र दत्त भट्ट
मेनपा – ७ , बैतडी

Leave A Reply

Your email address will not be published.