यस वर्ष कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ।

हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो। यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन्।

गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए। यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ।

सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ। परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५ सय २ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५५ हजार ८ सय ९६ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन्।

यसैगरी ६९ हजार ८ सय १२ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २ दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए ल्याएका छन्।

ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ।

Leave A Reply

Your email address will not be published.