जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ(साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ। नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन्। साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ।
भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु(भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ। त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ। आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।
रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समय-समयमा उठ्ने गर्छ। पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ। ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ। तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरुभयो। दैत्य देवताहरुमाथि भारी पर्न थाले।
देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए। तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन्। संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो। मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए। भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो।
त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ। जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए। असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो। असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे।
राजा बली महान दानवीर थिए। उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे। ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे। बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने। तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे। बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए। राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो। तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो। उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन्। यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए।
नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन्। संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो। त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ।