पाकिस्तानमा बाढी र पहिरोमा परी २ सय जनाभन्दा धेरै अझै बेपत्ता
विनाशकारी मनसुनी बाढी र पहिरोमा परी पाकिस्तानमा दुई सय जनाभन्दा धेरै अझै बेपत्ता रहेका छन् । पछिल्ला दिनहरूमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा अचानक आएको बाढीले तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो खैबर पख्तुनख्वा प्रान्तका रहेका बीबीसीले जनाएको छ ।
सबैभन्दा धेरै प्रभावित बुनेर जिल्लाका एक स्थानीय अधिकारीले कम्तीमा दुई सय नौ जना अझै पनि बेपत्ता रहेका र यो सङ्ख्या बढ्न सक्ने आशङ्का गरेका छन् । बाढी र पहिरोका कारण सडकहरू गम्भीर रूपमा क्षतिग्रस्त भएकाले केहीले आफन्तहरूको शव दाबी गर्न पनि असमर्थ रहेका छन् ।
एक प्रान्तीय उद्धार प्रवक्ताले १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका समाचार एजेन्सी एएफपीलाई बताएका खबरमा उल्लेख छ ।
जुन र सेप्टेम्बर महिनाको बीचमा हुने मनसुनी वर्षाले दक्षिण एशियाको वार्षिक वर्षाको झन्डै तीन चौथाइ हिस्सा ओगट्छ । पहिरो र अचानक बाढी आउनु सामान्य भए पनि वैज्ञानिकहरू जलवायु परिवर्तनले यी मौसमी घटनाहरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको बताउँछन् ।
पाकिस्तानमा मनसुनी विपद्का कारण गएको जुन महिनायता कम्तीमा ६ सय ५० जनाको ज्यान गइसकेको छ ।
गएको जुलाई महिनामा पाकिस्तानको झन्डै आधा जनसङ्ख्या रहेको पञ्जाबमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतभन्दा धेरै वर्षा र अघिल्लो मनसुन पूरै मौसमको तुलनामा बढी ज्यान गएको घटना रेकर्ड गरिएको थियो ।