कैलाली- पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा ‘अटवारी पर्वको तयारी सुरु भएको छ।
श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतवारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परर बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन्।
आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले बताए। पूजाआरधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए।
गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने कामको बाँडफाँड गर्न सामुहिक छलफलमा जुटेका छन्। पर्वमा दर खानाका लागि आज दिनभरि माछा मार्ने र विभिन्न थरीका तरकारी, सरसामानको जोहो गर्ने काम भइरहेको कनरी टोलका भलमन्सा टेकराज चौधरीले बताए।
दुई दिनसम्म मनाइने यो पर्वमा आइतवारको अघिल्लो दिन व्रतालुले दर खाने चलन छ। पर्वको पहिलो दिन व्रतालु पानीसमेत नखाई आधा दिन निरहार व्रत बस्ने गर्दछन् भने मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआरधना गर्ने चलन रहेको टेकराजले बताए। यसरी पूजाआरधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन्। यस पर्वका दिन विशेष गरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछालगायत खानाका साथै फलफूल खाने परम्परा रहेको उनले बताए।
पर्वको दोस्रो दिन अर्थात् सोमवार बिहानै व्रतालुहरूले स्नान गरी पुनः पूजाआरधना गर्दछन्। गुइँठाको आगो बाली ध्यू र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। धार्मिक नित्यकर्म सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत खानाका मिठामिठा पकवान खाने गर्दछन्। तयार गरिएका खानाका परिकारमध्ये एक भाग आफ्ना विवाहित छोरीचेटीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले अलग्गै छुट्याइन्छ। त्यसपछि मात्रै व्रतालुले खाने गर्दछन्।
थारु राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेको बेला सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दङ्गीशरणलाई सहयोग गरेकाले भीमको नाममा व्रत बसेर अटवारी पर्व मनाउने चलन चलेको थारु अगुवा रतीरामले उल्लेख गरे। विवाहित छोरीलाई उपहार दिएर सम्बन्ध प्रगाढ बनाउने यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले मनाउने गर्दछन्।