डडेल्धुराको अजयमेरुमा जेठाजुसँग मिलेर श्रीमानको हत्या

डडेल्धुरामा श्रीमानको हत्या आरोपमा श्रीमती र दाइ पक्राउ परेका छन्।

जिल्लाको अजयमेरु गाउँपालिका–५ देवलगालका २९ वर्षीय मान सिंह भनिने महेश सार्कीको हत्या आरोपमा उनकी श्रीमती कमला सार्की र दाइ जोगराज सार्की पक्राउ परेका हुन्।

यहीँ असोज ८ गते राति १२ बजेतिर महेश आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एंव सूचना अधिकारी डम्बर विष्टका अनुसार घटनास्थल हेर्दा घरकोठाको खटिया नजिक महेशको शव भेटिएको थियो। ‘घरको बाँसोमा प्लाष्टिकको डोरी टंङ्गाएको अवस्थमा रहेको थियो। घटना स्थलको प्रकृति हेर्दा शंकास्पद थियो,’ उनले भने।

मृतकको घरमा मृतक महेश, उनकी श्रीमती कमला, पाँच वर्षीय छोरा र ढाई वर्षकी छोरी बस्दै आएका थिए। मृतक महेश र उनको श्रीमती बिचमा दैनिक झै–झगडा हुने बुझिएको र घटना हुनुअघि पनि झगडाकै कारण कमला दुई महिना जति माइती घरमा बसेको पाइएको र २र४ दिन अगाडिमात्र पोइली घर फर्केर आएकी थिइन्।

असोज ८ गतेको रातिसमेत श्रीमान् झगडा गरी घर बाहिर निस्केर हराएको भनेर छिमेकीलाई कमलाले गुहारेको मागेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक विष्टले बताए।

उनका अनुसार प्रारम्भिक सोधपुछका क्रममा घटनामा मृतककी श्रीमती कमला र दाजु नाता पर्ने काकाको छोरा जोगराजको संलग्नता रहेको खुल्न आएको छ। दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।

युनिटी खबरबाट

Leave A Reply

Your email address will not be published.