बैतडी : जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन्। जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा सावित भएका छन्।
दिल्लीमा बसेर प्रकाशले बैतडीका अधिकांश जनप्रतिनिधिहरू-विशेषगरी पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरूको बढी विरोध गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै आएका छन्। उनले बैतडीका एक वडाध्यक्षलाई जातीय रूपमा होच्याउनुका साथै तथानाम गाली गलौज गरेपछि उनीविरुद्ध जातीय विभेदको कसुरमा मुद्दा दायर गरिएको थियो। हाल प्रकाश चन्द प्रहरीको फरार सूचिमा छन्।
बैतडीको पञ्चेश्वर गाउँपालिका–०४, अनमखेत स्थायी घर भएका चन्द हाल दिल्लीमा बस्दै आएका छन्। वि।स २०५४ सालमा एसएलसी पास गरी उच्च शिक्षाका लागि महेन्द्रनगर पुगेका हुन। उनी बैतडीकै एक व्यवसायीको महेन्द्रनगरस्थित घरमा डेरा लिएर बसेका प्रकाशले घरभेटीकै कान्छी श्रीमती ४२ वर्षीया केशरी (नाम परिवर्तन) सँग अनैतिक सम्बन्ध राख्यो।
उक्त कुरा जेठी श्रीमतीसँग काठमाडौंमा बस्ने घरभेटीले थाहा पाएपछि कान्छीको नाममा रहेको घर बेचिदिए भने, चोरी र लुटपाटको अभियोगमा प्रकाशविरुद्ध प्रहरीमा उजुरी दिए। तर, त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा रहेकाले प्रहरीले पक्राउ भने गर्न सकेन। त्यसपछि प्रकाश र केशरीले भूमिगत शैलीमा बागफाटा स्थित ५ कट्ठा जमिन किनेर खेतीपाती सुरु गरे।
उनले मुद्दाबाट बच्नका लागि कञ्चनपुर जिल्लाबाट ‘प्रकाश धामी’ नामको दोहोरो नागरिकता समेत लिएको स्रोतको दावी छ।
खेतीपाती गर्दै कञ्चनपुरको बागफाटामा बस्दै जाँदा प्रकाश र केशरी दुबैलाई रक्सीको लत लाग्यो। लत यति हदसम्म पुग्यो कि पैसा सकिएपछि घरेलु मदिरा बनाएर खान थाले। ठूलो ऋण लागेपछि तिर्नका लागि ५ कट्ठा जमिन बेचिदिए र दुवैजना भारत पसेका हुन्। दिल्लीमा केही समय होटेलमा काम गरेपछि हालसम्म दिल्लीको गुडगावस्थित बजाज कम्पनीमा ‘टुल टेक्निसियन’को रूपमा काम गर्दै आएका छन् ।
उनको फेसबुक आइडीमा भने उनले आफूलाई ‘सफ्टवेयर इन्जिनियर’ भनेर उल्लेख गरेका छन्। तर, १२ कक्षा पनि पास नगरेका प्रकाशका कागजात नक्कली भएको उनलाई नजिकबाट चिनेका व्यक्तिहरू बताउँछन्।
उनी अहिले थुप्रै फेक आइडी बनाएर दिल्लीबाट बैतडीका जनप्रतिनिधिहरूलाई गाली गर्ने र भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन्।
जनयुद्धकै समयमा एक पटक प्रकाशको खोजी गर्न उनका बुबा महेन्द्रनगरको बागफाटा पुगेका थिए। बुबा खेतिपातिमा सघाउन पनि थालेका थिए। एकदिन वर्षाको मौसममा बिहानै खेतमा काम गरिरहेको देखेपछि छिमेकीले “यी को हुन् ?” भनेर सोध्दा प्रकाशले जवाफ दिएका थिए “गाउँबाट नोकर बोलाएका हौँ।”
बुबालाई ‘नोकर’ भनेर चिनाएपछि तत्कालै बुबा झोला समातेर घर फर्किए । त्यस दिनदेखि बाउछोराबीच बोलाचाल र भेटघाट बन्द भयो। उनका बुबाले अहिले “छोरा मरेको हो” भनी मान्ने गरेका छन्।
उक्त मुद्दामा दोषी ठहर भई ४ महिनाको कैद सजाय तोकिएका उनी हाल प्रहरीको फरार सूचीमा रहेका छन्। उनलाई ‘इन्टरपोल’ प्रक्रिया मार्फत नेपाल ल्याएर जेल हाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
#सगरमाथा अनलाइन