बैतडी : मेलाको लागि मेलौली नगरपालिकाले दुईदिन बिदा दिएको छ। मेलौली नगरपालिका–०१ स्थित मेलौली भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा दुईदिन स्थानीय बिदा दिएको हो।
मेलौली भगवती मन्दिरमा मंगलबार र बुधबारका दिन बलिसहित भव्य मेला लाग्दैछ। मेलालाई स्थानीय भाषामा (देहिजाँत) भनेर चिनिन्छ। बिदाको दुई दिन नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।
हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। मेलौली भगवती मन्दिरमा लाग्ने यो मेलालाई स्थानीयहरुले सबैभन्दा ठूलो पर्वका रुपमा लिने गरिएको छ।
मेलामा ब्यापार गर्नको लागी छिमेकी राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट र यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
मेलौली नगरपालिकाले मेलाको अवसरमा गतबिगतका वर्षहरुदेखी स्थानीय बिदा दिदैं आएको छ।
