बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बैतडीमा एक हजार चारसय बढी जनशक्ती खटाइने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना जनशक्ती खटाइने भएको हो।
निर्वाचनमा जनशक्ती परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो। माग गरिएको जनशक्ती विवरण आएपछि मतदान केन्द्रको जिम्मेवारी पनि तोकिने उहाँले बताउनुभयो।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ। यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् ।
५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। सुरक्षा दृष्टिले बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन्।
जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।