महाशिवरात्रीको पावन अवसरसँगै नेपाली सेना दिवस भव्य रुपमा मनाइदै आएको छ। नेपालको राष्ट्रिय जीवनमा सैनिक दिवस केवल औपचारिक उत्सव होइन, यो इतिहास, साहस, अनुशासन, त्याग र राष्ट्रिय स्वाभिमानको सामूहिक स्मरण हो । हरेक वर्ष महाशिवरात्रिको दिन मनाइने सैनिक दिवसले नेपाली सेनाको गौरवपूर्ण यात्रालाई सम्झाउने मात्र होइन, बदलिँदो समयका चुनौतीहरूबीच यसको भूमिका र दायित्वबारे गम्भीर आत्ममन्थन गर्ने अवसर पनि प्रदान गर्छ । राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्थाको रूपमा नेपाली सेना नेपालको राज्य संरचनाको एक महत्त्वपूर्ण स्तम्भ हो । सैनिक दिवसका अवसरमा यसको ऐतिहासिक विकास, वर्तमान चुनौती, सुरक्षा रणनीति, शान्ति स्थापनामा योगदान, विपद् व्यवस्थापनमा भूमिका र भावी दिशा–दृष्टिकोणबारे विश्लेषण गर्नु समयसापेक्ष देखिन्छ।
नेपालको आधुनिक सैनिक इतिहासलाई व्यवस्थित रूपमा हेर्दा यसको आधार एकीकरण अभियानसँग जोडिन्छ । वि.सं. १८२६ (ई.सं. १७६९) मा काठमाडौँ उपत्यका विजयसँगै राष्ट्र एकीकरणको अभियान निर्णायक चरणमा पुगेको थियो, जसको नेतृत्व राजा पृथ्वीनारायण शाहले गर्नुभएको थियो । उहाँले राज्य विस्तारलाई मात्र लक्ष्य बनाउनुभएन, बरु “दुई ढुंगाबीचको तरुल” जस्तो भूराजनीतिक संवेदनशील अवस्थालाई बुझ्दै सुदृढ सैनिक संरचना निर्माणमा जोड दिनुभयो । पाँच ओटा सैनिक कम्पनी गठन गरी नियमित सैनिक संगठन सुरु गरिएको इतिहास छ । यही आधारबाट विकसित हुँदै आएको संरचनाले पछि “गोर्खाली सेना” का रूपमा ख्याति कमायो ।
नेपाल–अंग्रेज युद्ध (१८१४–१८१६) नेपाली सैनिक इतिहासको अत्यन्त महत्त्वपूर्ण अध्याय हो । सीमित स्रोत, कम जनशक्ति र आधुनिक हतियारको अभावका बाबजुद नेपाली सैनिकहरूले अदम्य साहस प्रदर्शन गरेका थिए । सुगौली सन्धिपछि नेपालको भूभाग घटे पनि गोर्खाली वीरताको अन्तर्राष्ट्रिय पहिचान स्थापित भयो । त्यसपछि ब्रिटिस सेनामा गोर्खा भर्तीको परम्परा सुरु भयो, जसले विश्वयुद्धहरूमा समेत योगदान पुर्यायो । पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ नेपाली युवाले विभिन्न मोर्चामा लडेको तथ्य विभिन्न ऐतिहासिक अभिलेखहरूमा पाइन्छ । ब्रिटिस सरकारको अभिलेखअनुसार प्रथम विश्वयुद्धमा हजारौँ गोर्खा सैनिक संलग्न थिए जसमध्ये धेरैले जवानहरुले बलिदान दिएका थिए । यी तथ्यहरू नेपाली सैनिक परम्पराको साहसिक पाटोलाई प्रमाणित गर्छन् । राष्ट्रिय एकताको महाअभियान , राणा शासन, प्रजातन्त्र, पंचायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि नेपाली सेना संस्थागत रूपमा निरन्तर अगाडि बढ्दै आयो। राजनीतिक परिवर्तनका कालखण्डमा सेना प्रत्यक्ष शासनमा संलग्न नभई राज्य संरचनाको अंगका रूपमा सीमित रहनु यसको संस्थागत स्थायित्वको सूचक मानिन्छ । २०६२/६३ को जनआन्दोलनपछि भएको शान्ति प्रक्रियामा सेना लोकतान्त्रिक नियन्त्रण र नागरिक सर्वोच्चताको सिद्धान्तअन्तर्गत पुनर्संरचित भयो । नेपालको अन्तरिम संविधान २०६३ तथा वर्तमान संविधान २०७२ ले सेनालाई संघीय संरचनाअनुसार परिभाषित गरेको छ । संविधानको धारा २६७ मा नेपाली सेनाको व्यवस्था गरिएको छ र राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयअनुसार परिचालन हुने प्रावधान उल्लेख छ । आजको अवस्थामा नेपाली सेनाको मुख्य जिम्मेवारी बाह्य सुरक्षा, आन्तरिक सुरक्षा सहयोग, विपद् व्यवस्थापन, महत्वपूर्ण संरचना संरक्षण र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सहभागिता हो ।
नेपाली सेनाको एउटा विशिष्ट पहिचान संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता हुन हो । संयुक्त राष्ट्रसंघ को अभिलेखअनुसार नेपाल शान्ति सेनामा योगदान गर्ने शीर्ष राष्ट्रहरूमध्ये एक हो। सन् २०२३ सम्म नेपालले १ लाख ५० हजारभन्दा बढी सैनिक तथा प्रहरी जनशक्ति विभिन्न शान्ति मिसनमा पठाइसकेको उल्लेख संयुक्त राष्ट्रसंघीय शान्ति सञ्चालन विभाग (UN Peacekeeping Fact Sheet) मा पाइन्छ । हाल पनि ५ हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न देशमा तैनाथ रहेको तथ्यांक सार्वजनिक दस्तावेजहरूमा उल्लेख छ । लेबनान, दक्षिण सुडान, कङ्गो, माली लगायतका देशहरूमा नेपाली सैनिकहरूले शान्ति स्थापना, नागरिक संरक्षण, मानवीय सहयोग र पुनर्निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका छन् । यसले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो बनाउनुका साथै सैनिकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुर्याएको छ ।
सैनिक दिवसको अवसरमा नेपाली सेनाको भूमिका केवल युद्ध वा सुरक्षा अवधारणामा सीमित छैन भन्ने कुरा स्मरणीय छ। २०७२ सालको भूकम्पपछि उद्धार र राहत कार्यमा नेपाली सेनाको योगदान ऐतिहासिक रह्यो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिवेदनअनुसार भूकम्पपछिका प्रारम्भिक दिनहरूमा हजारौँ सैनिक उद्धार कार्यमा खटिएका थिए । दुर्गम गाउँमा हेलिकप्टरमार्फत राहत पुर्याउनेदेखि भग्नावशेषबाट जीवित व्यक्तिको उद्धारसम्म सेनाले अग्रणी भूमिका खेलेको थियो । बाढी, पहिरो, डढेलो, हिमपहिरो जस्ता विपद् घटनामा नेपाली सेना सधैं पहिलो प्रतिक्रियाकर्ताका रूपमा परिचित छ । जलवायु परिवर्तनका कारण विपद्को आवृत्ति र तीव्रता बढ्दै गएको सन्दर्भमा सेनाको तयारी अझ सुदृढ हुनुपर्ने देखिन्छ ।
तर चुनौतीहरू पनि कम छैनन् । विश्वव्यापी रूपमा सुरक्षा अवधारणा बदलिँदै गएको छ । नयाँ प्रकृतिका चुनौती थपिदै गै रहेका छन । साइबर सुरक्षा, जैविक जोखिम, आतंकवाद, सीमा अपराध, मानव तस्करी र अन्तर्राष्ट्रिय अपराधजस्ता गैरपरम्परागत खतरा बढिरहेका छन् । नेपालको खुला सीमाना र भूराजनीतिक अवस्थाले यी चुनौतीलाई थप जटिल बनाउँछ । दुई विशाल अर्थतन्त्र र शक्तिराष्ट्रबीच अवस्थित नेपालले सन्तुलित कूटनीति र सुरक्षा नीति अवलम्बन गर्नु अनिवार्य छ । सैन्य शक्तिको प्रयोगभन्दा बढी रणनीतिक धैर्यता, सूचना विश्लेषण र कूटनीतिक समन्वय आवश्यक देखिन्छ। प्रविधिगत आधुनिकीकरण अर्को महत्त्वपूर्ण पक्ष हो । आधुनिक युद्ध प्रणाली ड्रोन, स्याटेलाइट निगरानी, साइबर इन्टेलिजेन्स, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिसँग जोडिएको छ । सीमित बजेट र आर्थिक स्रोतका कारण तीव्र गतिमा आधुनिकीकरण गर्न चुनौतीपूर्ण भए पनि क्रमिक सुधारको नीति अवलम्बन गरिएको छ । तालिम प्रणाली सुधार, अन्तर्राष्ट्रिय सहकार्य, संयुक्त अभ्यास र प्राविधिक दक्षता अभिवृद्धि नेपाली सेनाको दीर्घकालीन रणनीतिको हिस्सा हुन् ।
सैनिक–नागरिक सम्बन्ध पनि लोकतान्त्रिक समाजमा संवेदनशील विषय हो । सेना राज्यको अधीनमा रहनु, नागरिक सर्वोच्चता कायम रहनु र पारदर्शिता सुनिश्चित हुनु लोकतान्त्रिक मूल्यमान्यताको आधार हो । नेपालको संविधान र कानुनी संरचनाले सेनालाई निर्वाचित सरकारको नियन्त्रणमा राखेको छ । यो व्यवस्थाले संस्थागत स्थायित्व र लोकतान्त्रिक सन्तुलन कायम गर्न मद्दत गरेको छ । सैनिक दिवस जस्ता अवसरले सेना र नागरिकबीच विश्वासको सम्बन्ध सुदृढ गर्ने अवसर पनि प्रदान गर्छ ।
आर्थिक पक्ष पनि विचारणीय छ। रक्षा बजेटले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने भए पनि विकास र सामाजिक क्षेत्रसँग सन्तुलन मिलाउनु आवश्यक हुन्छ । नेपालको जस्तो विकासोन्मुख देशमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीसँगै सुरक्षा आवश्यकतालाई समन्वय गर्नु चुनौतीपूर्ण नीति–निर्माणको विषय हो । त्यसैले रक्षा खर्चको पारदर्शिता, प्रभावकारिता र दीर्घकालीन रणनीतिक योजना महत्त्वपूर्ण हुन्छ ।
सैनिक दिवसले परम्परा र आधुनिकताको सेतुका रूपमा पनि काम गर्छ। परेड, सलामी, शौर्य प्रदर्शन र पदक वितरण कार्यक्रमहरूले इतिहासको स्मरण गराउँछन् । तर यस दिन केवल औपचारिक समारोहभन्दा बाहिर निस्केर राष्ट्रिय सुरक्षाबारे बौद्धिक बहस, नीति समीक्षा र दीर्घकालीन दृष्टिकोण विकास गर्न आवश्यक छ। विश्वविद्यालय, अनुसन्धान संस्था र सुरक्षाविज्ञबीच समन्वय बढाएर सुरक्षा अध्ययनलाई संस्थागत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
नेपाली सेनाको भावी दिशा बहुआयामिक हुनुपर्छ । पहिलो, व्यावसायिकता र अनुशासनलाई उच्च प्राथमिकता दिइनु पर्दछ । दोस्रो प्रविधिगत आधुनिकीकरण हो भने तेस्रो विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि बढाउनु हो । त्यस्तै चौथोमा अन्तर्राष्ट्रिय सहकार्य र शान्ति स्थापनामा निरन्तरता हो भने पाँचौँ, पारदर्शिता र उत्तरदायित्व सुदृढीकरण जस्ता कुराहरु पर्दछन । यी आयामलाई समेटेर अघि बढ्दा मात्र सेना २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम हुनेछ ।
सैनिक दिवस राष्ट्रिय एकताको प्रतीक पनि हो । विविध भाषा, संस्कृति र भौगोलिक क्षेत्रबाट आएका युवाहरू एउटै सैनिक वर्दीमा राष्ट्रसेवामा समर्पित हुन्छन् जुन अति यसले राष्ट्रिय एकीकरणको भावनालाई बलियो बनाउँछ । इतिहासमा जस्तै भविष्यमा पनि नेपाली सेनाले राष्ट्रिय स्वाभिमान, अखण्डता र शान्तिको रक्षा गर्ने अपेक्षा नागरिक समाजले राखेको छ ।
अन्ततः सैनिक दिवस केवल विगतको गौरव गान होइन, भविष्यको जिम्मेवारी सम्झाउने दिन पनि हो । इतिहासले दिएको साहस, वर्तमानमा देखिएका चुनौति , भविष्यले मागेको रणनीतिक सोचलाई एकसाथ जोड्ने अवसर सैनिक दिवसले प्रदान गर्छ । राज्य, सरकार, सेना र नागरिकबीचको विश्वास र सहकार्य बलियो भए मात्र राष्ट्रिय सुरक्षा सुदृढ हुन सक्छ । त्याग, अनुशासन र कर्तव्यपरायणताको प्रतीक नेपाली सेना आज पनि राष्ट्रको ढालका रूपमा उभिएको छ । नेपाली सेना दिवसको हार्दिक शुभकामना !
(श्रोत:
नेपाली सेना आधिकारिक वेबसाइट तथा वार्षिक प्रतिवेदन; नेपाल सरकार अर्थ मन्त्रालय बजेट वक्तव्य २०८०/८१; नेपालको संविधान २०७२; संयुक्त राष्ट्रसंघीय शान्ति सञ्चालन विभागका सार्वजनिक तथ्यांक पत्रहरू; राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिवेदन,आदि )
देबेन्द्र दत्त भट्ट
मेलौली, बैतडी