बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना आजदेखि सुरु हुने भएको छ। बिहान करिब ११ बजेतिर सर्वदलिय बैठक बसेपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार जिल्लाभरका सबै मतपेटिका मतगणनास्थलमा सुरक्षित रूपमा भण्डारण गरिएका छन्। हिजो सम्पन्न मतदानपछि २ सय १५ वटै मतदान केन्द्रका मतपेटिका संकलन गरेर मतगणनास्थलमा पुर्याइएको उनले जानकारी दिए।
बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि यसपटक ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन परिणाम कसको पक्षमा जाने हो भन्ने विषयमा यतिबेला जिल्लाभर व्यापक चर्चा चलिरहेको छ। जिल्लामा कुल ७३ हजार १४८ मत खसेको छ। जसमा महिला मतदाता ४० हजार ५७२, पुरुष ३२ हजार ५७५ र अन्य १ जना मतदाताले मतदान गरेका छन्।
अब मतगणना सुरु भएसँगै बैतडीमा कसले बाजी मार्ला भन्ने चासो सर्वसाधारणदेखि राजनीतिक दलहरूमा बढेको छ। निर्वाचनको अन्तिम परिणाम आउन केही समय लाग्ने भए पनि मतगणनाको प्रारम्भिक नतिजाले नै जिल्लाको राजनीतिक समीकरण कता मोडिन्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।