बैतडीमा कांग्रेसको संगठनात्मक समिक्षा, सबै पालिका र वडामा बैठक बसाउन निर्देशन

बैतडी: हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेस बैतडीले जिल्लाभर आत्मसमिक्षा सुरु गर्ने भएको छ। कांग्रेस बैतडीले जिल्लाका १० वटै पालिका र ८४ वटै वडामा समिक्षा बैठक बसाउन सम्पूर्ण वडा सभापति तथा पालिका सभापतिहरूलाई निर्देशन दिएको हो।

जिल्ला कार्यसमितिले जारी गरेको निर्देशनअनुसार भर्खर सम्पन्न निर्वाचनको समीक्षा गर्न आ–आफ्नो तहमा अनिवार्य रूपमा बैठक बोलाइनेछ। बैठकमा आगामी रणनीति तय गर्ने, कुन नेता तथा कार्यकर्ताले कति सहयोग गरे–नगरेका विषयमा समेत गम्भीर छलफल गरी निर्णय गर्न भनिएको छ।

समिक्षा बैठकबाट भएका निर्णयहरू चैत्र महिनाको अन्तिमसम्म जिल्ला कार्य समितिमा पेश गर्न कांग्रेस बैतडीले अनुरोध गरेको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस बैतडीका उम्मेदवार चतुरबहादुर चन्द पराजित भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले पराजित गरेका हुन्।

उक्त निर्वाचनमा रास्वपाका उम्मेदवार भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने कांग्रेस उम्मेदवार चन्दले १८ हजार १९४ मत ल्याएका थिए। निर्वाचनमा भएको पराजयपछि कांग्रेसले संगठन सुदृढीकरण र आगामी रणनीति तय गर्न समिक्षा प्रक्रिया सुरु गरेको बताइएको छ।

May be a doodle of text

Leave A Reply

Your email address will not be published.