बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशुहरुको उन्नत जात विकास गर्ने उद्देश्यले कृत्रिम गर्भाधान सेवा सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार यही फागुन २८ गतेदेखि उक्त सेवा सुरु गरिएको हो।
गाउँपालिकाले स्थानीय गाई तथा भैंसीपालक कृषकहरुलाई सेवा उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न आग्रह गरेको छ। हाल कृत्रिम गर्भाधान सेवा गाईमा जर्सी जात तथा भैंसीमा मुर्रा जातको उन्नत नस्लको सिमेन प्रयोग गरी सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विरसिह भण्डारीले बताउनुभयो।
पशु प्राविधिकका अनुसार गाई वा भैंसीले साँढे वा राँगो खोजेको १२ देखि १८ घण्टाभित्र कृत्रिम गर्भाधान गराइसक्नुपर्ने हुन्छ। त्यसैले पशुमा यस्तो लक्षण देखिनेबित्तिकै तुरुन्त सम्पर्क गर्न कृषकहरुलाई अनुरोध गरिएको छ, ताकि प्राविधिकले समयमै सेवा उपलब्ध गराउन सकून्।
कृत्रिम गर्भाधान सेवा लिनका लागि कृषकहरुले प्राविधिक प्रकाश साउँदलाई ९८६२४६३३०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। यस सेवाले पशुहरुको उन्नत जात विस्तारमा टेवा पुग्ने र कृषकहरुको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गाउँपालिकाले लिएको छ।
