मेलौलीमा शैक्षिक गुणस्तर सुधारका लागि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैतडी: सर्पोट सोसाइटी नेपाल मेलौलीद्वारा सञ्चालन गरिएको आत्मनिर्भरताका लागि शिक्षा परियोजना अन्तर्गत मेलौली नगरपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार मेलौली नगरपालिका–०१ स्थित मेलौली भगवती मन्दिरको धर्मशाला हलमा आयोजित कार्यक्रममा वडा नम्बर ४ देखि ९ सम्म रहेका सात वटा सामुदायिक माध्यमिक विद्यालयका कक्षाकोठामा ‘बुक कर्नर’ (किताब कुना) स्थापना गर्ने विषयमा छलफल तथा अभिमुखिकरण गरिएको हो।

कार्यक्रममा बुक कर्नर निर्माण, शैक्षिक सामग्रीको तयारी तथा व्यवस्थापन, विद्यार्थीमा पढ्ने बानिको विकास र कक्षाकोठा केन्द्रित सिकाइ प्रभावकारी बनाउने विषयमा सहभागीलाई जानकारी दिइएको सर्पोट सोसाइटी नेपालका अध्यक्ष रामसिंह नेगीले जानकारी दिनुभयो। उहाँका अनुसार बुक कर्नर स्थापना भएपछि विद्यार्थीलाई पाठ्यपुस्तकबाहेक अतिरिक्त पुस्तक पढ्ने अवसर मिल्नेछ भने विद्यालयमा पठन संस्कृतिको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट सामुदायिक विद्यालयमा बुक कर्नर वितरण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको हो। सोही कार्यक्रम अन्तर्गत विद्यालयमा बुक कर्नर व्यवस्थापन गर्ने तयारी गरिएको जनाइएको छ।

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा बुक कर्नर वितरण गरिने विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि, मेलौली नगरपालिकाको शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्री लगायतको सहभागिता रहेको थियो।

सर्पोट सोसाइटी नेपालका अध्यक्ष रामसिंह नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष लोकराज भट्ट र वडा नम्बर ४ का वडाध्यक्ष हर्क बहादुर चन्द विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले विद्यालयमा बुक कर्नर स्थापना हुँदा विद्यार्थीमा अध्ययन संस्कारको विकास हुने र सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि शैक्षिक सुधारका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

अन्त्यमा सहभागीहरूले विद्यालयमा बुक कर्नर प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै विद्यार्थीलाई नियमित पठन गतिविधिमा जोड्न शिक्षकको भूमिका अझै महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.