मायाको पर्व ‘भिटौलो’ सुरु: चैतमा दाजुभाइले छोरी–बहिनी भेट्ने चलन

बैतडी: चैत महिना सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत भिटौलो पर्व मनाउन थालिएको छ। विशेषगरी बैतडी, दार्चुला लगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइहरूले विवाहित छोरी–बहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रही आएको छ।

भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो। यस क्रममा दाजुभाइ तथा माइती पक्षले मिठो–मसिनो पकाएर, फलफूल, कपडा तथा विभिन्न सामग्री लिएर छोरी–बहिनीको घरमा पुग्ने गर्छन्। भेटघाटसँगै एकदुई दिन बस्ने, परिवारबीच दुःख–सुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार शिक्षक विरुवा राम लुहारले बताउनुभयो।

पहाडबाट तराईमा बसाइँ सरेका परिवारहरूले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन्। टाढा बस्नेहरु पनि चैत महिनामा सकेसम्म छोरी–बहिनीलाई भेट्न जाने प्रयास गर्ने गरिन्छ। चैत महिनामा दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास समेत समाजमा रहेको छ।

त्यसैले माइती पक्षका दाजुभाइ कहिले भेट्न आउलान् भनेर दिदीबहिनीहरू बाटो कुर्ने चलन पनि अझै जीवित छ। आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा छ। भिटौलोले माइतीघरबाट पराइ घर गएकी छोरी–बहिनीप्रति माया, सम्मान र आत्मीयता दर्शाउने अवसर प्रदान गर्ने विश्वास गरिन्छ। यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक कडीका रूपमा लिइन्छ।

पहिला भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली र घरेलु सामग्री लिएर जाने चलन थियो। तर पछिल्लो समय बजारबाट किनेर लैजाने सामग्रीहरूको प्रयोग बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको व्यापारीहरू बताउँछन्। परापूर्वकालदेखि चल्दै आएको यो परम्परा आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको मायाको प्रतीकका रूपमा जीवित रहेको छ।

Leave A Reply

Your email address will not be published.