इनिशा विक प्रकरण: बैतडीका महिला अधिकारकर्मीको गृहमन्त्रीलाई ज्ञापनपत्र

बैतडी : सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै बैतडीका महिला अधिकारकर्मीहरूले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जाल बैतडीले प्रमुख जिल्ला अधिकारी कृष्ण थापा मार्फत आइतबार गृहमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको हो।

महिला अधिकारकर्मी सरस्वती नेपालीका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई उन्मुक्ति नदिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन, बाल हिंसा रोकथामका कार्यक्रम सञ्चालन गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले सोही दिन १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको थियो। पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

मृतक इनिशा वीरेन्द्रनगरस्थित उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन्। उनका आफन्तका अनुसार उनी फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कडा कारबाही गर्न स्थानीय स्तरबाट दबाब बढ्दै गएको छ।

May be an image of ticket stub and text

May be an image of text

Leave A Reply

Your email address will not be published.