बैतडी: मेलौलीमा जोखिमपूर्ण अवस्थामा रहेको रातोमाटो खनेको खाडल पुरिएको छ। मेलौली नगरपालिका–७ कुनथलामा रातो माटो खन्ने क्रममा करिब १६ फिट गहिरो र १२ फिट लामो खाडल बनेर ठूलो जोखिम उत्पन्न भएको थियो। उक्त जानकारी ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीमा प्राप्त भएपछि कार्यालय प्रमुख नरेन्द्र बहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटिई पुरिएको छ।
सो क्षेत्रमा ५–६ जनाले खाडलभित्र पसेर रातो माटो खन्ने गरेका थिए। एकजनाले तलबाट माटो खनेर माथि पठाउने र माथि ४–५ जनाले उठाउने गरेको पाईएको प्रहरीले जानकारी दिएको छ। यसरी ठूलो खाडलभित्र माटो खन्ने क्रममा विशेषगरी महिलाहरूले ज्यान जोखिममा राखेर काम गर्दै आएका थिए।
यस क्षेत्रमा घर लिपपोत गर्न प्रयोग हुने रातो माटो निकै प्रसिद्ध रहेको छ। विशेषगरी चैत्र महिनामा चैत्र नवरात्राको अवसरमा घर सजाउन यहाँबाट माटो लैजाने चलन छ।
जोखिम न्यूनीकरणका लागि मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द सँग समन्वय गरी नगरपालिकाको डोजर प्रयोग गरेर खाडल पुरिएको छ। खाडल पुर्न स्थानीय बासिन्दाहरूले समेत सक्रिय सहयोग गरेका थिए।
अब उप्रान्त माटो खन्न आउनेहरूका लागि वैकल्पिक सुरक्षित स्थानको व्यवस्था गरिएको स्थानीय दशरथसिह नायकले बताउनुभयो। साथै माटो खन्ने क्रममा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।