स्थानीयको सहयोगमा बैतडीका तीन मन्दिरमा रंगरोगन, धार्मिक क्षेत्रको सौन्दर्य बढ्यो

बैतडीको दशरथचन्द नगरपालिका–११ डिबडेमा स्थानीयको आर्थिक सहयोगमा तीन वटा मन्दिरमा रंगरोगन गरिएको छ। केदार मन्दिर, नागार्जुन मन्दिर र नरिबुबु मन्दिरमा सामूहिक पहलमा रंगरोगन सम्पन्न गरिएको हो।

स्थानीय समाजसेवी नरी पन्तको पहलमा देश तथा विदेशमा रहेका बासिन्दाहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। धार्मिक क्षेत्रको संरक्षण, मन्दिरको सौन्दर्य अभिवृद्धि तथा विशेषगरी नवरात्रा जस्ता धार्मिक पर्वलाई लक्षित गर्दै रंगरोगन कार्य अघि बढाइएको जनाइएको छ।

रंगरोगन कार्यमा करिब १ लाख ३० हजार रुपैयाँ खर्च भएको आयोजकहरूले बताएका छन्। उक्त रकम स्थानीय स्तरमै संकलन गरिएको हो भने केही सहयोग बाहिर रहेका स्थानीयहरूबाट समेत प्राप्त भएको थियो।

रंगरोगनपछि मन्दिर क्षेत्रको स्वरूप आकर्षक बनेको छ। यसले धार्मिक गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने स्थानीयवासीको विश्वास छ। आगामी दिनमा मन्दिर परिसरको थप व्यवस्थापन र सरसफाइका कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत बनाइएको जनाइएको छ।

स्थानीयले सामूहिक सहयोग र एकताको उदाहरण प्रस्तुत गर्दै यस्ता कार्यले समुदायबीच सहकार्यको भावना अझ बलियो बनाएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.