बैतडीको शिवनाथमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं.–०१ डोरमस्थित नागार्जुन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरबाट १२३ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग र शिवनाथ गाउँपालिकाको समन्वयमा आयोजना गरिएको शिविरमा ३१ जना गर्भवती महिला र ९२ जना अन्य सेवाग्राहीले सेवा लिएको स्वास्थ्य संस्था प्रमुख जीवन सिंह साउदले जानकारी दिनुभयो।
शिविरमा नसर्ने रोगहरूको परीक्षण, रक्तचाप तथा ब्लड सुगर जाँच, गर्भवती महिलाका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा, दीर्घ श्वासप्रश्वास, मृगौला, क्यान्सर र हृदयसम्बन्धी रोगहरूको जाँच तथा परामर्श प्रदान गरिएको थियो। साथै मानसिक स्वास्थ्य परामर्श, स्वास्थ्य सचेतना कार्यक्रम तथा निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
वडाध्यक्ष बल्देब सिंह चाडका अनुसार ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। यस्ता कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा सहयोग पुर्याउनुका साथै स्थानीय बासिन्दामा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा निकै सहज भएको प्रतिक्रिया दिएका छन्। आगामी दिनमा यस्ता शिविरहरूलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।