प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभयो। आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नुभएको थियो।
लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभयो। अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको थियो।
अर्याल गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ–९ बाट निर्वाचित हुनुभएको हो। यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बन्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने गरी स्थगित भएको छ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अहिले केहीबेरमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ। त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ। कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।