लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम मेलौलीमा सम्पन्न

बैतडी — जिल्लामा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण तथा स्थानीय तहमा शान्ति सुरक्षा सुदृढ पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम मेलौलीमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजना तथा मेलौली नगरपालिका, जिल्ला प्रहरी कार्यालय बैतडी र सामाजिक विकास कार्यालय बैतडीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

मेलौली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले पछिल्लो समय समाजमा बढ्दो लागुऔषध प्रयोगले गम्भीर चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले लागुऔषधले व्यक्तिको स्वास्थ्यमा मात्र नभई आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थामासमेत नकारात्मक प्रभाव पार्ने बताउनुभयो।

नगर प्रमुख भीम बहादुर (भूकम्प) ले युवापुस्तामा बढ्दो लागुऔषध सेवनलाई नियन्त्रण गर्न यस्ता सचेतनामूलक कार्यक्रम अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा लागुऔषध दुरुपयोगका कारण, त्यसबाट हुने असर, रोकथामका उपाय तथा सम्बन्धित कानुनी प्रावधानबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा जनप्रतिनिधि, नगरका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.