बैतडीको शिवनाथ गाउँपालिकामा “शुभकामना कप खुल्ला पुरुष भलिबल प्रतियोगिता” आजदेखि सुरु भएको छ। शिवनाथ गाउँपालिका–६ स्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको राष्ट्रिय रेफ्री धिरज चन्दले बताउनुभयो।
कृष्ण आधारभूत विद्यालयको आयोजनामा तथा कानली सेवा समाजको प्रायोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाभित्र तथा आसपासका गरी १२ वटा टिमको सहभागिता रहेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गम्भीर बहादुर र शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउद प्रमुख अतिथिका प्रतियोगिताको उद्घाटन गरिएको जनाईएको छ। यसैगरी विशिष्ट अतिथिमा तेजबहादुर चन्द रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साउदले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रधानाध्यापक धर्मसिंह भाटका अनुसार प्रतियोगिता सञ्चालनको मुख्य उद्देश्य खेलाडीहरूको चौतर्फी विकास गर्नुका साथै स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नु रहेको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी द्वितीय हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र तृतीय हुने टोलीलाई २२ हजार २२२ रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने र दैनिक रूपमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास गरिएको आयोजकले जनाएको छ। साथै, प्रतियोगिताले शिवनाथ क्षेत्रमा खेलकुद संस्कृतिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।