हरेक वर्ष मे १५ मा International Day of Families अर्थात् अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै आएको छ। आजको दिनले मानव सभ्यता, सामाजिक संरचना, संस्कार, उत्तरदायित्व र राष्ट्रिय एकताको मूल आधारलाई सामूहिक सम्मान गरेको अनुभुति गराएको छ। संयुक्त राष्ट्रसंघले सन् १९९३ , मे १५ मा पारित प्रस्तावअनुसार यो दिवस मनाउन थालिएको हो। यसको उद्देश्य परिवारको महत्वलाई विश्वसामु उजागर गर्नु, परिवारसँग सम्बन्धित सामाजिक तथा आर्थिक चुनौतीबारे चेतना फैलाउनु तथा परिवारमैत्री नीतिको विकास गर्नु हो।
मानव इतिहासको सबैभन्दा पुरानो र जीवित संस्था परिवार हो। राज्य बन्नुभन्दा अगाडि परिवार थियो, शासन प्रणाली आउनुभन्दा अगाडि परिवार थियो, कानुन र संविधान बन्नुभन्दा अगाडि पनि मानिसले परिवारकै संरक्षणमा जीवन जिउँथ्यो। आज विज्ञान, प्रविधि, शहरीकरण र विश्वव्यापीकरणले संसारलाई बदलिरहेको बेला पनि मानिसको पहिलो पाठशाला परिवार नै हो। जन्मदेखि मृत्यु सम्म मानिसलाई माया, संस्कार, अनुशासन, नैतिकता, सहयोग, सहअस्तित्व र जिम्मेवारी सिकाउने केन्द्र परिवार हो । परिवार सम्बन्धि विभिन्न धारणा रहेका छन।
१. “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।” ऋग्वेदमा भनिएको छ।
२. अमेरिकी समाजशास्त्री जर्ज पिटर मर्डकका अनुसार —
“परिवार समाजद्वारा स्वीकृत यौन सम्बन्धमा आधारित त्यस्तो सामाजिक समूह हो, जसमा पति–पत्नी र तिनका सन्तानहरू सम्मिलित हुन्छन्।”
३. समाजशास्त्री म्याकाइभर र पेज का अनुसार —
“परिवार पर्याप्त निश्चित यौन सम्बन्धद्वारा परिभाषित सानो तथा स्थायी समूह हो, जसले सन्तानको जन्म र पालनपोषण गर्ने कार्य गर्दछ।”
४. समाजशास्त्री अगबर्न र निमकॉफ का अनुसार —
“परिवार पति–पत्नीको स्थायी संगठन हो, जसमा सन्तान हुन सक्छन् वा नहुन पनि सक्छन्, अथवा एकल अभिभावक र सन्तान मिलेर बनेको समूह पनि परिवार हो।”
यसरी रक्तसम्बन्ध भएका , एउटै भान्सामा खाना खाने साझा लक्ष्य लिएर अगाडि बढिरहेको प्राकृतिक समुह नै परिवार हो भनेर बुझ्न सकिन्छ।
आज विश्वभर परिवारको स्वरूप परिवर्तन हुँदै गएको छ। संयुक्त परिवार घट्दै गएका छन्, एकल परिवार बढिरहेका छन्, वैदेशिक रोजगार, आर्थिक दबाब, व्यक्तिगत स्वतन्त्रता र आधुनिक जीवनशैलीले पारिवारिक सम्बन्धमा नयाँ चुनौती सिर्जना गरिरहेका छन् । नेपाल पनि यस परिवर्तनबाट अछुतो छैन। गाउँदेखि सहरसम्म परिवारको संरचना बदलिएको छ। वृद्ध बाबुआमा गाउँमा, छोराछोरी विदेशमा, श्रीमान्–श्रीमती छुट्टाछुट्टै सहरमा बस्नुपर्ने अवस्था बढिरहेको छ। यसले भावनात्मक दूरी, मानसिक तनाव र सामाजिक विखण्डनसमेत बढाइरहेको छ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय परिवार दिवस केवल शुभकामना आदानप्रदान गर्ने दिन मात्र होइन, परिवारको मूल्य, महत्व, चुनौती र भविष्यबारे गम्भीर समीक्षा गर्ने अवसर पनि हो।
परिवारको उत्पत्ति, ऐतिहासिक विकास र वर्तमान अवस्था
मानव सभ्यताको आरम्भसँगै परिवारको अवधारणा विकसित भएको मानिन्छ। प्रारम्भिक मानव जंगल र गुफामा समूहमा बस्थे। सुरक्षा, भोजनको खोज, सन्तानको संरक्षण र सहकार्यको आवश्यकता अनुसार मानिसहरू आपसी सम्बन्धमा बाँधिए। यही सम्बन्ध विस्तार हुँदै परिवारको निर्माण भयो। इतिहासकार तथा समाजशास्त्रीहरूले परिवारलाई समाजको पहिलो संस्था मानेका छन्।
प्राचीन कालमा परिवारको स्वरूप मुख्यतः संयुक्त र सामूहिक थियो। कृषि समाजको विकाससँगै परिवार अझ व्यवस्थित बन्यो। खेतीपाती, पशुपालन, सम्पत्तिको संरक्षण तथा श्रम विभाजनका कारण एउटै घरमा धेरै पुस्ता बस्ने परम्परा विकसित भयो। नेपाल लगायत दक्षिण एसियाली समाजमा संयुक्त परिवारलाई आदर्श मानिन्थ्यो। हजुरबुबा, हजुरआमा, बाबुआमा, दाजुभाइ, दिदीबहिनी, काकाकाकी, फुपूफुपाजु सबै एउटै परिवारको घेराभित्र बस्ने चलन थियो।
संयुक्त परिवारले केवल आर्थिक सहकार्य मात्र होइन, भावनात्मक सुरक्षा पनि प्रदान गर्दथ्यो। बालबालिकाले संस्कार सिक्ने, वृद्धवृद्धाले सम्मान पाउने, दुःखसुख बाँड्ने तथा निर्णय सामूहिक रूपमा गर्ने परम्पराले समाजलाई मजबुत बनाएको थियो। नेपाली समाजमा “घर” शब्द केवल भवन नभई आत्मीयता, सहअस्तित्व र सम्बन्धको प्रतीक थियो।
तर औद्योगिक क्रान्तिपछि विश्वभर सामाजिक संरचनामा परिवर्तन आयो। शिक्षा, रोजगारी, शहरीकरण र आधुनिक जीवनशैलीले मानिसलाई गाउँबाट सहर र देशबाट विदेशतर्फ आकर्षित गर्यो। यसको प्रभाव परिवारमा पनि पर्न थाल्यो। व्यक्तिगत स्वतन्त्रता र निजी जीवनलाई प्राथमिकता दिने सोच बढ्दै जाँदा संयुक्त परिवार क्रमशः विघटन हुन थाले।
नेपालमा विशेषगरी २०४६ सालपछि खुलापन, वैदेशिक रोजगार, निजी शिक्षाको विस्तार तथा सहरमुखी बसाइँसराइले पारिवारिक संरचनामा तीव्र परिवर्तन ल्यायो। अहिले सहरहरूमा श्रीमान्–श्रीमती र छोराछोरी मात्र रहेको एकल परिवारको संख्या बढिरहेको छ । कतिपय अवस्थामा श्रीमान् विदेशमा, पत्नी सहरमा र बाबुआमा गाउँमा बस्नुपर्ने बाध्यता देखिन्छ।
आधुनिक प्रविधिले संसारलाई नजिक ल्याए पनि भावनात्मक दूरी भने बढेको अनुभूति धेरैले गरिरहेका छन् । एउटै घरमा बसेर पनि मोबाइलमा व्यस्त हुने प्रवृत्ति बढेको छ। परिवारका सदस्यबीच संवाद घट्दै गएको छ। सामाजिक सञ्जालले सम्बन्ध विस्तार गरे पनि आत्मीयता कमजोर बनाएको गुनासो सुनिन थालेको छ।
अर्कोतर्फ आर्थिक दबाब, बेरोजगारी, वैवाहिक असन्तुलन, सम्बन्ध विच्छेद, मानसिक तनाव तथा वृद्धवृद्धाको एक्लोपन जस्ता समस्या पनि बढिरहेका छन्। बालबालिकामा अनुशासनहीनता, कुलत, हिंसा तथा मानसिक असुरक्षाको समस्या बढ्नुमा कमजोर पारिवारिक वातावरणलाई पनि कारण मानिन्छ।
यद्यपि परिवर्तनसँगै केही सकारात्मक पक्ष पनि देखिएका छन्। महिलाको शिक्षा र आर्थिक सहभागिता बढेको छ। परिवारभित्र लैङ्गिक समानताको चेतना विकसित हुँदै गएको छ। बालअधिकार, महिलाअधिकार तथा व्यक्तिगत स्वतन्त्रताप्रति सम्मान बढेको छ।
आजको आवश्यकता भनेको परम्परागत पारिवारिक मूल्यलाई आधुनिक चेतनासँग सन्तुलित बनाउनु हो। परिवारलाई केवल रगतको सम्बन्ध नभई जिम्मेवारी, सम्मान, संवाद र सहकार्यको केन्द्रका रूपमा पुनःस्थापित गर्न आवश्यक छ।
सिङ्गो र एकल परिवार : फाइदा, बेफाइदा र बदलिँदो सामाजिक यथार्थ
परिवारको स्वरूप समयसँगै बदलिँदै गएको छ। अहिले मुख्यतः संयुक्त अर्थात् सिङ्गो परिवार र एकल परिवारको चर्चा बढी हुने गरेको छ । दुवै प्रकारका परिवारका आफ्नै विशेषता, फाइदा र चुनौती छन्।
सिङ्गो परिवारमा धेरै सदस्य एकै ठाउँमा बस्छन्। यस्तो परिवारमा भावनात्मक सहारा बलियो हुन्छ । घरमा वृद्धवृद्धा हुँदा बालबालिकाले संस्कार सिक्ने अवसर पाउँछन्। दुःखसुख बाँड्ने वातावरण हुन्छ। आर्थिक भार पनि साझा हुने भएकाले संकटको समयमा सहारा मिल्छ।
नेपाली समाजमा संयुक्त परिवारले सामाजिक सुरक्षा प्रणालीको काम गरेको थियो। बिरामी पर्दा हेरचाह गर्ने, बेरोजगार हुँदा साथ दिने, बालबालिकालाई हुर्काउने तथा वृद्धवृद्धालाई सम्मानपूर्वक राख्ने वातावरण संयुक्त परिवारमा सहज हुन्थ्यो।
संयुक्त परिवारको अर्को महत्वपूर्ण पक्ष सामाजिक अनुशासन हो। परिवारका ज्येष्ठ सदस्यको अनुभवले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने काम गर्थ्यो। पारिवारिक निर्णय सामूहिक रूपमा हुने भएकाले जिम्मेवारी बाँडफाँट पनि व्यवस्थित हुन्थ्यो।
तर सिङ्गो परिवारमा चुनौती पनि छन्। धेरै सदस्य हुँदा विचारमा मतभेद हुन सक्छ। व्यक्तिगत स्वतन्त्रता सीमित भएको अनुभव कतिपयलाई हुन्छ। आर्थिक व्यवस्थापन, सम्पत्ति बाँडफाँट, जिम्मेवारी र अधिकारका विषयमा विवाद पनि उत्पन्न हुन सक्छन्।
आधुनिक समयमा शिक्षा, रोजगारी र व्यक्तिगत जीवनशैलीका कारण एकल परिवार बढिरहेका छन् । एकल परिवारमा निर्णय स्वतन्त्र रूपमा गर्न सकिन्छ। गोपनीयता र व्यक्तिगत स्वतन्त्रता बढी हुन्छ । सानो परिवार भएकाले खर्च व्यवस्थापन पनि सहज हुन सक्छ।
विशेषगरी सहरिया जीवनमा एकल परिवारलाई व्यावहारिक विकल्पका रूपमा हेरिन्छ। रोजगार, अध्ययन र सीमित आवासका कारण धेरैले सानो परिवारलाई प्राथमिकता दिन थालेका छन्।
तर एकल परिवारका चुनौती झन् गम्भीर देखिन्छन्। बालबालिकाले हजुरबुबा–हजुरआमाको माया र संस्कारबाट टाढा हुनुपर्छ। श्रीमान्–श्रीमती दुवै काममा व्यस्त हुँदा बालबालिकामा मानसिक असर पर्न सक्छ। वृद्धवृद्धा एक्लिने समस्या बढिरहेको छ।
एकल परिवारमा भावनात्मक दबाब पनि बढी हुन्छ। संकट वा बिरामी पर्दा सहयोग गर्ने सदस्य कम हुन्छन्। मानसिक तनाव, डिप्रेसन र सम्बन्ध विच्छेदको जोखिम पनि बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
नेपालमा वैदेशिक रोजगारका कारण “विखण्डित परिवार” को अवस्था बढ्दो छ । परिवारका सदस्य विभिन्न देश र सहरमा छरिएर बस्नुपर्ने बाध्यताले सम्बन्धमा दूरी ल्याइरहेको छ। आर्थिक रूपमा केही सुधार भए पनि सामाजिक र भावनात्मक असर गम्भीर बन्दै गइरहेको छ।
त्यसैले कुन परिवार राम्रो भन्ने प्रश्नभन्दा पनि परिवारभित्र कस्तो सम्बन्ध छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। सानो परिवार भए पनि माया, सम्मान, संवाद र जिम्मेवारी भए त्यो सुदृढ हुन्छ। ठूलो परिवार भए पनि द्वेष, विभाजन र हिंसा भए त्यो कमजोर हुन्छ।
आजको आवश्यकता भनेको पारिवारिक संरचनालाई समयअनुकूल बनाउँदै मानवीय सम्बन्धलाई जीवित राख्नु हो। प्रविधि र व्यस्तताबीच पनि परिवारसँग समय बिताउने, सामूहिक भोजन गर्ने, वृद्धवृद्धाको सम्मान गर्ने, बालबालिकासँग संवाद गर्ने तथा संस्कार हस्तान्तरण गर्ने संस्कृति जोगाउन आवश्यक छ।
परिवार : समाज र राष्ट्रिय एकताको जग
समाजको आधार व्यक्ति हो भने व्यक्तित्व निर्माणको केन्द्र परिवार हो। असल परिवारबाट असल नागरिक बन्छन्, असल नागरिकबाट सभ्य समाज निर्माण हुन्छ र सभ्य समाजबाट समृद्ध राष्ट्रको विकास सम्भव हुन्छ। त्यसैले परिवारलाई राष्ट्रिय एकताको पहिलो पाठशाला मानिन्छ।
बालबालिकाले पहिलोपटक बोल्न, हिँड्न, व्यवहार गर्न, सम्मान गर्न, अनुशासन पालना गर्न र सहअस्तित्व सिक्ने स्थान परिवार नै हो। विद्यालयले शिक्षा दिन सक्छ, तर संस्कारको बीउ परिवारमै रोपिन्छ।
यदि परिवारमा हिंसा, घृणा, विभेद र असहिष्णुता हुन्छ भने त्यसको असर समाजमा पनि देखिन्छ। परिवारमै सम्मान, समानता, सहकार्य र प्रेमको वातावरण भए समाज पनि त्यही दिशामा अघि बढ्छ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यस्तो विविधतायुक्त राष्ट्रमा एकताको भावना निर्माण गर्न परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। परिवारले नै सहिष्णुता, परम्परा, संस्कार, राष्ट्रियता र सामाजिक उत्तरदायित्व सिकाउँछ।
आज समाजमा बढ्दो हिंसा, लागूऔषध दुव्र्यसन, नैतिक विचलन तथा सामाजिक असन्तुलनका पछाडि कमजोर पारिवारिक संरचना पनि एउटा कारणका रूपमा देखिन्छ। बालबालिकालाई समय नदिनु, परिवारभित्र संवादको कमी हुनु तथा प्रविधिमा अत्यधिक निर्भरता बढ्नुले सामाजिक सम्बन्ध कमजोर बनाइरहेको छ।
वृद्धाश्रमको संख्या बढ्नु पनि हाम्रो सामाजिक संरचनामा आएको परिवर्तनको संकेत हो। कुनै समय घरका ज्येष्ठ सदस्य ज्ञान, अनुभव र संस्कारका प्रतीक मानिन्थे। आज कतिपय वृद्धवृद्धा आफ्नै सन्तानबाट टाढा भएर एक्लोपनमा बाँच्न बाध्य छन्।
अर्कोतर्फ परिवारले आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। श्रम, बचत, सहयोग र उत्पादनको आधार परिवार नै हो। कृषि प्रधान समाजमा परिवार नै उत्पादन इकाइ थियो। आज पनि साना व्यवसाय, उद्यम र सामाजिक सहकार्य परिवारबाटै सुरु हुने गरेका छन्।
राष्ट्र संकटमा पर्दा पनि परिवारकै शक्ति निर्णायक हुन्छ। भूकम्प, महामारी, बाढीपहिरो जस्ता विपद्मा परिवारले एकअर्कालाई दिएको साथले समाजलाई टिकाइराखेको उदाहरण नेपालले देखिसकेको छ।
त्यसैले राज्यले पनि परिवारमैत्री नीति निर्माण गर्न आवश्यक छ। वृद्धवृद्धाको सुरक्षा, बालअधिकार, महिलाको सम्मान, पारिवारिक परामर्श, मानसिक स्वास्थ्य तथा रोजगारीका अवसरसँग सम्बन्धित नीतिले परिवारलाई मजबुत बनाउन सक्छन्।
अन्तर्राष्ट्रिय परिवार दिवसले हामीलाई एउटा गम्भीर सन्देश दिन्छ—प्रविधि, सम्पत्ति र आधुनिकताले मात्र मानिसलाई सुखी बनाउन सक्दैन। मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा आत्मीयता, माया, विश्वास र अपनत्व हो, जुन परिवारबाट प्राप्त हुन्छ।
आजको व्यस्त जीवनमा परिवारसँग समय बिताउनु पनि ठूलो जिम्मेवारी बनेको छ। एउटै घरमा बसेर पनि टाढा हुने संस्कृतिले भविष्यमा अझ ठूलो सामाजिक संकट निम्त्याउन सक्छ। त्यसैले परिवारलाई समय दिनु, सम्मान गर्नु, संवाद बढाउनु र सम्बन्धलाई जोगाउनु आजको सबैभन्दा ठूलो सामाजिक आवश्यकता हो।
अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा सम्पूर्ण परिवारमा प्रेम, सहिष्णुता, सम्मान र एकताको भावना अझ प्रगाढ बनोस् भन्ने शुभकामना। परिवार बलियो भए समाज बलियो हुन्छ, समाज बलियो भए राष्ट्र बलियो हुन्छ। मानव सभ्यताको सबैभन्दा सुन्दर आश्रय परिवार सधैं सुरक्षित, सम्मानित र जीवन्त रहिरहोस्। वसुदैध कुटम्बकमको धारणा जीवित रहोस सबैमा हार्दिक शुभकामना!
लेखक: शिक्षक देवेन्द्र दत्त भट्ट
सुजङ्ग स्कुल, राजपुर डोटी