बैतडीको पुर्चौंडीमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको छ। पुर्चौंडी नगरपालिका–१ हाटस्थित पुरानो स्वास्थ्यचौकी भवनमा बेश स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए।
विपद्को समयमा नागरिकलाई सहयोग गर्ने उद्देश्यले सशस्त्र प्रहरीले बेश स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । बेशमा १५ जनाको टोली खटिएको छ। विपद् उद्धारका सामग्रीसहित खटिएको टोलीले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीसँग मिलेर काम गर्ने उनले बताए।
पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र आसपासका क्षेत्रमा मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्का घटनाहरुमा खोज,उद्धार र राहतका लागि सशस्त्र प्रहरीले पुर्चौंडीमा अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको हो। शुक्रबार एक कार्यक्रमकाबीच अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको हो। उक्त बेशको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले उद्दघाटन गरेका थिए।
यसअघि बैतडी सदरमुकामस्थित छेलमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको थियो। मनसुनको समयमा विपद्का घटना हुन सक्ने र त्यस्ता घटनामा प्रभावित भएका परिवारहरुलाई तत्काल सहयोग पुर्याउनका लागि बेश स्थापना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए।